क्याम्पस पृथ्वीनारायण क्याम्पसले ६६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । क्याम्पसले आफ्नो स्थापनाको ६५ वर्ष पार गर्दै ६६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिकोत्सव आयोजना गरेको हो । यो क्याम्पस २०१७ साल भदौ १७ गते स्थापना भएको हो ।
कार्यक्रमका मुख्य अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि निरन्तर सहयोग गरिरहेको बताउनु भयो। उहांले यसै वर्ष म्याचिङ ग्रान्ड भवन निर्माणका लागि करिब ८ करोड ३६ लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिनुभयो।
पृथ्वीनारायण क्याम्पसका सहायक प्रमुख विजयबहादुर थापाले त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्येको सबैभन्दा ठूलो आंगिक पृथ्वीनारायण क्याम्पस भएको बताउनु भयो । उहांका अनुसार यहाँ ११ हजार ५८२ जना विद्यार्थी छन् र करिब ५०० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।’
थापाले गण्डकी प्रदेशको पश्चिम क्षेत्रको अग्रगामी शिक्षण संस्था भएको पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले विशेष सहयोग गरिरहेको बताउनु भयो। उनले यसै वर्ष विश्वविद्यालय अनुदान आयोगबाट करिब ५ करोड रुपैयाँ म्याचिङ ग्रान्ड भवनका लागि प्राप्त भएको र टेन्डर आह्वान प्रक्रियामा पुगेको जानकारी दिनुभयो।
क्याम्पसले यो वर्ष गरेका कार्यहरूको विवरण प्रस्तुत गर्दै प्रमुख प्राडा हरिप्रसाद पाठकले विद्यार्थीहरूका लागि व्यावसायिकता विकास एन्टरप्रेनरसिप डेभलपमेन्ट तथा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने भएकाले विद्यार्थीले विश्वविद्यालयको यस नीतिबाट प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनेको विचार राख्नुभयको थियो।
क्याम्पसमा ३४ वटा विभाग सञ्चालनमा छन् । यसमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षा संकायअन्तर्गतका विभिन्न विभागहरूमा शिक्षण कार्य भइरहेको छ ।
क्याम्पस प्रमुख पाठकले आगामी वर्षका मुख्य योजनाहरू प्रस्तुत गर्दै भन्नुभयो, ‘विश्वविद्यालय अनुदान आयोग नेपालसमक्ष एनक्यू एचिप प्रोजेक्टअन्तर्गतको म्याचिङ फन्डबाट ८ करोड ३६ लाख रुपैयाँको लागतमा नयाँ शैक्षिक भवन निर्माण सम्पन्न गर्ने योजना छ ।’
उहांले क्याम्पसलाई शैक्षिक उपाधि प्रदान गर्ने उच्च शैक्षिक संस्थाको रूपमा रूपान्तरित गर्नका लागि ८ करोड ६७ लाख रुपैयाँको लागतमा आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य सुरु गर्ने योजना रहेको सार्बजनिक पनि गर्नुभयो।
संघीय सरकारको ३ करोड रुपैयाँको लगानीमा छात्रावास भवन निर्माण गर्ने र अन्नपूर्ण रंगशाला परिसरमा चेन्जिङ रुम निर्माण गर्ने योजना रहेको उनले जानकारी दिनुभयो।
पोखराका मेयर धनराज आचार्य, संस्थापक क्याम्पस प्रमुख जर्ज जोन लगायत कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। स्वतन्त्र विद्यार्थी युनियनका सभापति विष्णुप्रसाद पोखरेलले क्याम्पसको विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। उहांले १६ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभयो।
त्रिवि कर्मचारी संगठन पृ्थ्विनारायण क्याम्पस ईकाई सभापति धनबहादुर गुरुङले क्याम्पसका कर्मचारीको तलब समस्या तत्काल समाधान गर्न माग गर्नुभयो । उहांले करारका प्राध्यापकहरूले साउन महिनादेखि तलब नपाएको समस्यालाई तत्काल समाधान गर्न आग्रह गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाईका सभापति सहप्राध्यापक डाक्टर लक्ष्मीशरण अधिकारीले क्याम्पसको गुणस्तरीय विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
छात्रवृत्ति वितरण
कार्यक्रममा विभिन्न छात्रवृत्ति वितरण गरियो । नम्रता रेग्मी र लक्ष्मण छत्यालल कृष्ण भारती छात्रवृत्ति प्राप्त गरे । अर्थशास्त्र छात्रवृत्तिअन्तर्गत अञ्जु गिरी, निरोज घिमिरे र सरोज घिमिरेलाई पनि छात्रवृत्ति प्रदान गरियो । बालगोपाल भगिरथी अमात्य छात्रवृत्तिबाट स्नातकोत्तर अंग्रेजी िषयमा उत्कृष्ट अंक प्राप्त गर्ने सकुन्तला लम्साल, दिपेश खाम्गी मगर र राजन दाहाल, विहान राजमाझीलाई छात्रवृत्ति प्रदान गरियो ।
डिल्लुप्रसाद सापकोटा छात्रवृत्ति कोषका संस्थापक ऋषि सापकोटाले स्नातकोत्तर तहमा मानविकी संकायमा सर्वोच्च अंकसहित पास गर्ने मन्दिप श्रेष्ठ र समिरा बाटाजू, विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातकोत्तर तहमा सर्वोच्च अंक प्राप्त गर्ने राजेश पौडेल र स्नातक तहको बिबिए कार्यक्रममा सर्वोच्च अंक प्राप्त गर्ने भावना खड्कालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्नुभयो।
नेपाल बैंक लिमिटेडको छात्रवृत्तिबाट बिबिए अध्ययन गरेर एमबिए प्रथम सेमेस्टरमा भर्ना भएकी उत्कृष्ट अंक प्राप्त गर्ने सुप्रिया मल्ललाई १५ हजार ५०० रुपैयाँ छात्रवृत्ति प्रदान गरियो ।
कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूले नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । विशेष गरी महिला विद्यार्थीहरूले मन्जरी टप्पा गीतको शैलीमा नृत्य प्रस्तुत गरेर दर्शकहरूको प्रशंसा पाए ।